नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘बादलडाँडा’ लोकार्पण

 काठमाण्डौ -पर्यटन र साहित्य संगसंगै अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ गाऊँ पर्यटन प्रवर्द्वन मञ्च (भिटोफ ) नेपालको आयोजनामा नियात्राकार राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रा संग्रह ‘बादलडाँडा’लोकार्पण सम्पन्न गरिएको छ ।

शनिवार काठमाण्डौ स्थित गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेलमा आयोजना गरिएको बिशेष कार्यक्रममा प्रमुख अतिथि बिशिष्ट अतिथि लगायत अतिथीहरुद्वारा लोकार्पण गरिएको थियो । उक्त कार्यक्रममा गाउँ पर्यटन मञ्च(भिटोफ)का महासचिव निशेष थापाले अतिथिहरूको स्वागत गरेका थिए ।
धन्यवाद ज्ञापन भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारीले गरेका थिए ।


पर्यटन ब्यवसायी गोपाल थापको अध्यक्षता तथा प्रा. डा. रमेश भट्टराई को प्रमुख आतिथ्यता एवं पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी समिक्षकद्वय राम लोहनी तथा डा. बिन्दु शर्मा , श्रीओम श्रेष्ठ ‘रोदन’ लगायत भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारी लगायत सयौं साहित्यानुरागी महानुभावहरुको समुपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा•डा• रमेश भट्टराईले विषयवस्तुको वर्णन अव्वल रहनुका साथै राजेन्द्र मान डङ्गोल आत्मपरक अनुभुतीको ब्याख्या र बिश्लेषण प्रकृति वर्णन लाई कलात्मक रुपमा प्रस्तुत गर्न खप्पिस रहेका हुनाले पछिल्लो समयमा प्रकाशित भएका कृतिहरुमा उत्कृष्ट रहेको बिचार ब्यक्त गर्दै,उनको लेखनमा पर्यावरणीय चेत अव्वल रहनुका साथै लेखनलाई स्थानीय जनजीविकासँग जोड्ने वा विवरण र वर्णन सन्तुलित रहेको बताएका छन् ।

यसैक्रममा टीप्पणीकार राम लोहहनीले यात्राबिवरणमा लेखिएको कतिपय कुराहरुको सन्दर्भ सामग्रीले भविष्यमा समेत अनुसंधान का लागि सामग्री बन्न सक्ने बिचार ब्यक्त गर्दै लेखनकलाका आधारमा भषा निक्कै राम्रोसंग प्रयोग गरिएको हिसावले पाठकलाई रुचिकर हुने बिचार ब्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा• धनप्रसाद सुवेदीले भूगोललाई संस्कृति र समाजसँग जोडेका कारण 'बादलडाँडा' एक मानक नियात्रा सङ्ग्रह बनेको अभिमत राखेका छन् । आफूले चीनमा भर्चुअल माध्यमबाट अध्यापनरत रहँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले खोजेका उत्कृष्ट सामग्री नभेटिएकोले त्यतिबेला पाएको सास्तिको अनुभव सुनाउँदै'बादलडाँडा' जस्ता कृति आएकामा आफूलाई खुशी लागेको बताएका छन् ।

उक्त अवसरमा अर्का समालोचक डा. बिन्दु शर्मा ले लेखनले कौतुहलता सहितको गति प्रदान गर्नुपर्छ, जुन ‘बादलडाँडामा’ सन्दर्भ सामग्रीका रुपमा प्रयुक्त गरिएका फोटाहरुले स्थान परिचय का लागि बल पुगेको उल्लेख गर्दै यो कृति पर्यटन,पर्यावरण लगायत सामाजिक यथार्थता उजागर गर्नमा सफल रहेको बताउंदै आफ्नो रुचि र व्यवसायलाई संगसंगै ब्यवस्थित रुपमा सम्योजन गरि लेखिएकोले डङ्गोलको ‘बादलडाँडा’पदयात्रा गाईडको रुपमा समेत चित्रित गर्न सकिने बिचार ब्यक्त गरेकी छन् । यसैक्रममा सर्जक राजेन्द्रमान डंगोलले आफ्ना कृतिहरु पाठकको मन मस्तिष्कमा जीवित बस्न सकेन भने लेखकिय भूमिका जीवित नहुने बिचार व्यक्त गर्दै कृति लोकार्पण पश्चात पाठकको नासोको रुपमा रहने कुरा बताएका छन् ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पाले नियात्राकृति 'बादलडाँडा'ले पर्यटन प्रवर्धनमा दरिलो टेवा पुर्याउने राय प्रकट गरे । साथै उक्त कार्यक्रममा टानका पूर्व अध्यक्ष नवराज दाहाल, प्रा •डा• ऋषिराम शर्माले पनि कृति विमोचनको उपलक्ष्यमा नियात्राकारलाई शुभकामना दिएका थिए । कार्यक्रममा कवि तथा सम्पादक लक्ष्मी रूम्बाद्वारा सहजकर्ताको भूमिका निभाएकी छन् ।