सल्यानमा चट्याङ लागेर प्रधानाध्यापक मृत्यु

काठमाण्डौँ - सल्यानमा चट्याङ लागेर एक विद्यालयका प्रधानाध्यापकको ज्यान गएको छ । कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दलबहादुर कार्कीको  चट्याङ लागेर मृत्यु भएको हो ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो  साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो ।  

सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।