तनावग्रस्त बन्यो धनगढीको नोभा अस्पताल, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौँ । धनगढीको नोभा अस्पताल यतिबेला तनावग्रस्त बनेको छ । सामान्य अवस्थामा उपचार गर्न ल्याइएका १७ वर्षिय युवक नसिब चौधरीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको हो ।

कञ्चनपुर बेलौरीका चोधरीको अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आक्रोशित आफन्तले तोडफोड  गरेका थिए । 

आक्रोशित भिड नियन्त्रण गर्न प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।

एसपी विष्टको अनुसार मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो ।

दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।