बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्न उपप्रमुख डंगालको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन्।

कटन क्यान्डीमा ‘रोडामीन बी’ नामक अखाद्य रंग मिसाइएको प्राप्त भएपछि उपप्रमुख डंगोलले यस्तो निर्देशन दिएकी हुन् ।

बालबालिकालाई लक्षित खुला रूपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं.७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालका प्रमुख श्रीराम न्यौपानेका अनुसार रंग भएका क्यान्डी खाँदा तत्कालै पनि समस्या देखिन सक्छन्। यसका दीर्घकालीन असर पनि छन्।

आज नै महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गराउने भएकोले यस्ता क्रियाकलाप नगर्न सचेत गराएको छ।