अचेत नेताहरुको शारीरिक हाउभाउल नेपाली र नेपाल आमाको शिर झुक्यो : मनिषा कोइराला

काठमाडौँ ।  कलाकार मनिषा कोइरालाले अचेत नेताहरुको शारीरिक हाउभाउले नेपाली र नेपाल आमाको शिर  झुकेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

शनिबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले  ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नेपाल कमजोर भइरहेको बताइन् । उनले अवसरको खोजीमा हजारौँको संख्यामा युवाहरु विदेश गइरहेको, नेपालको कलेजहरु रित्तिदा आफ्नो मनमा चिसो पस्ने गरेको बताइन् । उनले विदेशमा पढ्न गएका मान्छे फेरि फर्किन्छन् त भन्दै प्रश्न समेत गरिन् ।

धार्मिक, सांस्कृतिक, प्राकृतिक रुपले भरिपूर्ण रहेको नेपालमा नेपालीहरुबिच धेरै मतभेद रहेको र आउँदो पुस्तालाई कस्तो नेपाल दिँदैछौँ भन्दै प्रश्न गरिन् । नेपालमा अहिले छिन्नभिन्न भएको आफ्नो परिवारलाई नहेर्ने तर ग्लोबलाइजेशनको कुरा गर्ने अवस्था रहेको बताउँदै उनले  पहिला परिवार अर्थात नेपाललाई हेर्नुपर्नेमा जोड दिइन् ।

उनले वीर गोर्खाली भनेर गर्व गर्ने नेपाली आज कुन अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गरिन् । कोइरालाले विश्वमा देशविहीन भएका मान्छेहरुको दोश्रो दर्जाको नागरिकका रुपमा अपमानित भएर बसेको बताउँदै  त्यो अवस्था आउन नदिन समयमै देशको बारेमा सोच्नुपर्ने उनले बताइन् ।