एमाले काठमाडौँ जिल्ला कमिटीले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ । 

कमिटीले काठमाडौं महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरवलोकनका निम्ति आग्रह गर्दै पत्र बुझाएको हो । 

आइतबार साँझ बालुवाटारमा पुगेर एमाले वाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराई, जिल्ला अध्यक्ष दीपक निरौला, महानगरका उपप्रमुख सुनिता डंगोलसहितको टोलीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरणलगायत विषयमा ध्यानाकर्षण गराएको हो ।

जिल्ला कमिटीले मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा सुन्दरीजलको नाग्मती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन माग गरेको छ । उपत्यकाका विभिन्न भागमा पुनर्भरणको योजना अगाडि बढाउन पनि माग गरिएको छ ।

यस्तै, यहाँका नदीहरूको सौन्दर्यीकरण र फोहोरमैलाको दीर्घकालीन समाधान गर्न समेत माग गरिएको छ । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले समस्या समाधानका निम्ति सरकारका तर्फबाट पहल गरिने बताए । कुनै निकाय र व्यक्तिले व्यावहारिक पक्षलाई ध्यान नदिई निर्णय गर्न नहुनेमा उनले जोड दिएका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।