दुई दिने औपचारिक भ्रमणको लागि नेपाल आइपुगे ओमनका विदेशमन्त्री सय्यद  

काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न काठमाडौं आएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् । अल्बुसैदी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणका लागि आएका हुन् ।

भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरूबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भोलि भदौ ११ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यतालिका छ ।