भारतको गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा २७ जनाको ज्यान गयो

काठमाण्डौँ - भारतको गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । पाँच किलोमिटर परसम्म धुवाँ फैलिएको भीषण आगलागीमा परेर ज्यान गुमाउनेहरूमा बालबालिकासमेत रहेका बीबीसी हिन्दीले जनाएको छ ।

आगलागी गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिहरूको हब ुटीआरपी गेमिङ जोनु मा भएको गुजरात प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउने काम सकेर खोजी तथा राहत वितरणको काम भइरहेको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत र घाइतेको उपचारमा ५० हजार भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।