गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा स्वीकृत  

एजेन्सी । गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् (यूएनएससी) मा ल्याइएको प्रस्ताव सोमबार स्वीकृत भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन ।

चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा प्रस्ताव पेस गरिएको जानकारी दिएको थियो ।

यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले यो मस्यौदा प्रस्तावलाई समर्थन गरेको बताए ।

उनले यो प्रस्ताव तयार गर्न अल्जेरिया र अन्य अरब देशहरूको कडा मेहनतको प्रशंसा गरेको पनि बताए ।

अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि गाजामा इजरायली सेनाले थालेको हमलामा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भइसकेको छ ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।