एमाले–कांग्रेस घमण्डी र भ्रष्ट पार्टी हुन् : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले–कांग्रेस घमण्डी र भ्रष्ट पार्टी भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा पार्टीका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहमा उनले यस्तो बताएका हुन् । कांग्रेस–एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि त्यो सम्भव नहुने उनको भनाइ छ ।

सम्मानित नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरूले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने दाबी गरे ।

नेता खनालले भने, ‘यी दुई घमण्डी पार्टीहरु हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ । कमसेकम नेपालमा चाहिँ असम्भव छ ।’