प्रधानन्यायाधीशले भने-'स्वतन्त्र प्रेसविना स्वतन्त्र न्यायपालिका कल्पना गर्न सकिँदैन'

 काठमाडौँ - प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिकाविनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेसविनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन् ।

 शुक्रबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले न्यायपालिका र सञ्चारजगत लोकतन्त्रका महत्वपूर्ण आधारस्तम्भ भएको बताए । उनले न्यायपालिका र सञ्चारजगतको अभावमा लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरे । उनले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितताविना कानुनको शासन समृद्ध बन्न नसक्ने बताए ।