ओरालो लाग्यो शेयर बजार, २६ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो दिन आज आइतवार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव ८१ अंकले ओरालो लागेको छ। परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो।

गत मंसिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक २ हजारको बिन्दुभन्दा तल झरेको हो। आज विभिन्न ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटक खरिदबिक्री हुँदा ३ अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्। वित्त समूह १ दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २ दशमलव ४२ प्रतिशतले घटेको छ।

बोटलर्स नेपाल बालाजु  लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ।  यो कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबरको ४ लाख १५ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ।