बिपी प्रतिष्ठानका अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर ३३ लाख जरिवाना, चार वर्ष कैद

काठमाडौँ । विशेष अदालत, काठमाडौंले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक अधिकृतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना गरेको छ।

प्रतिष्ठानको हाताभित्र व्यवसाय गरिरहेका व्यवसायीहरूसँग आफ्नो अधिकार नै नभएको अवस्थामा पनि बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको अभियोगमा तेजनारायण साहलाई दोषी ठहर गरेका हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई चार वर्ष कैद गरेको प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत साहले प्रतिष्ठानको हातामा संचालनमा रहेका व्यवसायीहरूबाट विद्युत महसुलवापतको ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएर आफ्नो खातामा हालेका थिए।

विपी प्रतिष्ठानकै खातामा जम्मा गर्नुपर्ने रकमलाई साहले हिनामिना गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २५ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। उनलाई बिगो बराबर जरिवानासमेत भएको प्रवक्ता कार्कीले जानकारी दिए।