निर्मला शर्माले पाइन् गोपालदास पत्रकारिता पुरस्कार, कसले कुन पुरस्कार पाए ?

काठमाडौं - प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गरेको छ ।

करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आएकी शर्मालाई सो पुरस्कार प्रदान गरेको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेस काउन्सिल नेपाल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा विशेष कार्यक्रम आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो ।

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्धितीय योगदान दिएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन र उनको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो । यो पुरस्कारको राशी एक लाख ५१ हजार रूपैयाँ छ ।

२०५२ सालदेखि विभिन्न मिडिया काम गर्दै आएकी शर्मा पछिल्लो समय समकोण टीभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता छिन् । शर्मासँग बिगत २८ वर्षदेखि निरन्तर रूपमा विभिन्न सञ्चारमाध्यममा रिपोर्टर हुँदै सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उनले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रिय दैनिक पत्रिकाको रिपोर्टर, रेडियो नेपाल र रेडियो नेपालको घटना र विचार कार्यक्रमको रिपोर्टर, त्यस्तैगरी, सारथी साप्ताहिक, रेडियो सगरमाथामा लामो समय रिपोर्टर भई काम गरेकी थिइन् ।

कान्तिपुर एफएम र उज्यालो एफएममा पनि दुई वर्ष साप्ताहिक रूपमा कार्यक्रम चलाएकी शर्माले पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज दैनिकको संवाददाता भएर केही वर्ष काम गरेकी थिइन् ।

हाल उनी खोज पत्रकारिता केन्द्रककी उपाध्यक्ष, दक्षिण एशियाली पत्रकार महिला सन्जाल (स्वाम) नेपालकी अध्यक्ष र नेपाल पत्रकार महासंघको सल्हाहकार पनि छिन् ।

महिला पत्रकारहरूको साझा संस्था सञ्चारिका समूहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरूको संख्या बढाउनका लागि तालिम र गुणात्मक वृद्धिका लागि पनि काम गरेको अनुभव छ । उनी महिला खबर डटकमकी सस्थापक अध्यक्ष समेत हुन् ।

२०६२/०६३ को जनआन्दोलनमा जनअधिकार र प्रेस स्वतंत्रताका लागि पत्रकार महासंघको केन्द्रीय सदस्य र दक्षिण एसियाली पत्रकार संगठनको महासचिवको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । साथै, उनले विभिन्न दैनिक, साप्ताहिक, म्यागेजिन र अनलाइनमा समसामयिक विषयमा लेख लेख्दै आएकी छिन् ।

काउन्सिलले २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यसअघि काउन्सिलका संस्थापक समेत रहेका अग्रज पत्रकार भारतदत्त कोइरालाले प्राप्त गरेका थिए । प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला बनेकी छिन् । साथै, पत्रकारितामा लामो समयदेखि योगदान पुर्‍याउने विभिन्न पत्रकारलाई सम्मानसहित वार्षिकोत्सव मनाउने तयारी छ ।

को–कसले पाए प्रेस काउन्सिलको पुरस्कार ?

काउन्सिलले आज १६ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ्ग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रवीन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, कृष्ण अधिकारी, रमेश पौडेल, उदय जीएम र राजकुमार कार्की रहेका छन् ।

यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई, प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार दुई जना पत्रकार सागर पण्डित र चुडामणि भट्टराईलाई प्रदान गरिएको छ । यसैगरी, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामीलाई दिइएको छ ।

त्यस्तै, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई दिइएको छ । जसअन्तर्गत पत्रकारहरू विमल ज्ञवाली, जीवन भण्डारी, शङ्कर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमण छन् ।

त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट १९ जना पत्रकार पुरस्कृत भएका छन् । जसअन्तर्गत पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदिश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डीसी र ओमकार आचार्य छन् ।

प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रूपा घिमिरे र गगनशीला खड्काले पाएका छन् । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सात जना पत्रकारलाई दिइएको छ । जसअन्तर्गत सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकी छन् ।

त्यस्तै, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमलाई दिइएको छ भने काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुँरास द्वैमासिकका खिमानन्द पोखरेलले पाएका छन् । प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीलाई दिइएको छ ।