भदौ १५ देखि ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’

 काठमाण्डौँ - गत वर्षदेखि आरम्भ भएको ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ को दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म हुने भएको छ ।
यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ लिटरेरी फेस्टिभल भारतको संयुक्त आयोजनामा हुने महोत्सवमा नेपालका साथै भारत, भुटान, बाङ्लादेश र श्रीलंका लगायत देशका ३०० भन्दा बढी लेखकको सहभागिता हुने आयोजकले जनाएको  छ । महोत्सवमा दक्षिणएशियाका कला, साहित्य, सङ्गीत, सिनेमा, पत्रकारिता, राजनीति लगायत विषयमा प्रस्तुति र चर्चा चल्नेछ ।

महोत्सवमा भारतबाट हलधर नाग, सुदर्शन पटनायक, नीला माधव पाण्डा, अरुणा मोहन्ती जस्ता पद्मश्री विजेता व्यक्तिहरूका साथै अभिनेत्री दिव्या दत्त, दीप्ति नवल, गायिका अभिलिप्सा पाण्डा लगायत आकर्षणका रूपमा छन्। बलिउड सिनेमामा अभिनय गरेर ख्याति कमाएकी अभिनेत्री मनीषा कोइराला पनि महोत्सवको अर्को आकर्षण बन्नेछिन् । त्यसैगरी भुटानका रिन्झिन रिन्झिन, श्रीलंकाका चमल सञ्जीवा, बाङ्लादेशका अशरफ ज्वेल वक्ताको भूमिकामा उपस्थित हुनेछन् । 

नेपालबाट त्रिरत्न मानन्धर, सीके लाल, अमर न्यौपाने, गीता त्रिपाठी, आरती चटौत, भोला रिजाल, नवराज केसी, रामेश कोइराला, चिरिबाबु महर्जन, सुमना श्रेष्ठ,  सुरक्षा पन्त, हर्क साउद, चरीमाया तामाङ लगायतले विभिन्न सत्रमा वक्ताका रूपमा सहभागिता जनाउनेछन्। महोत्सवमा ‘लघु कथावाचन’ र ‘कलिङ महफिल’ जस्ता सत्रहरू पनि समेटिएका छन् ।