दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० जनाको मृत्यु 

एजेन्सी । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको छ । सो आगलागीमा परी २० जनाको मृत्यु भएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् ।

सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो ।

घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ ।

यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीन जना घाइते भएका र अन्य २१ जना बेपत्ता भएका बताएका थिए ।

टिभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै स–साना विस्फोट भइरहेको देखिएको छ ।

करिब दुई हजार ३०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीनतले कङ्क्रिट भवनमा कसरी आगलागी भएको थियो भन्नेबारे आधिकारिक जानकारी प्राप्त हुनसकेको छैन ।