राहदानी विभाग भन्छ-'जीबी राईको राहदानी रद्द गर्ने आधार छैन' 

 काठमाडौँ - सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार गीतेन्द्रबाबु राई जीबीको राहदानी पासपोर्ट रद्द नहुने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि फरार जीबीको राहदानी रद्दको माग गर्दै कास्की प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको थियो ।

तर, राहदानी विभागले भने अहिलेकै अवस्थामा जीबीको पासपोर्ट रद्द गर्न मिल्ने आधार नभएको जनाएको हो । प्रहरीले जीबी मलेसियामा रहेको आशंका गरेको छ । त्यहाँबाट समेत अन्य देश भाग्न सक्ने भन्दै प्रहरीले उनको पासपोर्ट रोक्काको लागि वैशाखको अन्तिम साता राहदानी विभागलाई पत्राचार गरेको थियो ।