नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर 

काठमाण्डौँ - नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेका राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । उपचारको पहुँचमा नआउनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् । 

क्षयरोग लागेकाप्रति समाजको नकरात्मक दृष्टिकोण बाँकी रहनु र लामो समय नियमित औषधि प्रयोग गर्नुपर्ने भएकोले कतिपय बिरामी उपचारको पहुँचमा नपुग्ने गरेका हुन् । क्षयरोगको उपचार र औषधि निशुल्क छ ।

केन्द्रको तथ्याङ्क अनुसार गएको वर्ष मात्रै नेपालमा ३७ हजार भन्दा धेरै नयाँ बिरामी थपिएका छन् । पहिचान भएका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् । सरकारले शुरु गरेको क्षयरोगमुक्त नेपाल अभियानमार्फत एक सय २५ पालिकामा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ ।