६१ किलो सुन प्रकरणः ६ जनालाई धरौटीमा छाड्ने, १२ जनालाई पुर्पक्षको लागि थुनामा राख्न उच्च अदालत पाटनको आदेश

काठमाडौँ । ६१ किलो सुन प्रकरणका प्रतिवादी बनाइएक १७ जना मध्ये १२ जनालाई पुर्पक्षको लागि थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । त्यस्तै, बाँकी ६ जनालाई धरौटीमा छाड्ने फैसला उच्च अदालत पाटनले गरेको छ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेशमा गरिएको पुनरावेदनमाथि उच्च अदालत पाटनले बुधबार फैसला गरेको हो। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार जिल्लाको आदेशविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले यो फैसला गरेको हो।

दावा छिरिङ, टाँसी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई  पुर्पक्षका लागि थुनामा राख्ने फैसलालाई उच्च अदालतले सदर गरेको छ।

छाडिएकामध्ये कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट जनही एक लाख रुपैयाँ, गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीबाट जनही पाँच लाख र सुदर्शन गौतम र यादव पराजुलीबाट जनही दुई लाख रुपैयाँ धरौटी लिन पनि उच्च अदालत पाटनले आदेश दिएको छ।

सुरुमा एक सय किलो सुन बरामद भएको भनिए पनि पछि गाल्दा ६० किलो ७१६ ग्राम सुन पाइएको थियो। यो प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्ष छ।