मंगोलियामा ग्यास विस्फोट : ६ जनाको मृत्यु, १४ घाइते

एजेन्सी ।  मंगोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा ६ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मंगोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले आफ्नो वेबसाइटमार्फत ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किँदा विस्फोट भएको जनाएको छ  ।

प्रारम्भिक विवरणअनुसार विस्फोटपछि आगलागीमा तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । नेमाले आफ्नो वेबसाइटमा तीनजना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ ।

आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो भने एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो । यसैगरी अन्य तीन शिशुको उपचारसहितको हेरचाह भइरहेको छ ।

घटनास्थलमा उद्धार टोली पठाई आगो निभाएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । आपतकालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमा आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ ।

नजिकैको अपार्टमेन्ट ब्लकका बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको नेमाले जनाएको छ ।