'युवाले सपना पूरा गर्न विदेश जानुपर्दैन, नेपालमा नै अवसर छ' : अर्थमन्त्री महत

काठमाण्डौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् । शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा।महतले यस्तो बताएका हुन् । 

उनले युवाहरूको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताए । उनले नेपालको क्षेत्रको विकास गर्न बाँकी रहेकाले युवाहरूलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गरे । उनले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरूले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताए । 

उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताए । उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए । उनले नेपाल भित्रै केही गर्न सकिन्छ भन्ने हिसाबमा युवाहरूले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरु सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको बताए । उनले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताए । उनले सरकारले पनि आइटी क्षेत्रको प्रवर्द्धन गर्दै लैजाने बताए ।