जाडोमा घाँटी दुख्ने समस्यालाई हटाउने ६ उपाय

१) तपाईंको शरीरलाई र तपाईँको आवाजलाई आराम दिनुहोस्

—घाँटी दुख्नु धेरै सामान्य रोग हो र सामान्यतया: यो एक हप्ताभित्र आफैं निको हुन्छ। रातको निन्द्रा राम्रोसँग पुगेमा पनि यसले संक्रमणसँग लड्न मद्दत गर्दछ। एनएचएस (नेसनल हेल्थ सर्भिस) ले घाँटी दुख्नेहरूलाई राम्ररी हाइड्रेटेड रहन सल्लाह दिन्छ। यद्यपि तातो पेय पदार्थहरूलाई भने बेवास्ता गर्नुपर्छ।

२) औषधीको प्रयोगले पनि अप्ठेरोलाई सजिलो महसुस गराउन सक्छ
— यदि तपाईंलाई असहज महसुस हुन्छ भने प्यारासिटामोल वा इबुप्रोफेन लिनुहोस्। औषधियुक्त घाँटी दुख्ने लोजेन्जहरू र एनेस्थेटिक स्प्रेहरू पनि उपलब्ध छन् जसले घाँटीको दुखाइलाई एन्टि–इन्फ्लेमेटरीहरूसँग लक्षित गर्ने दाबी गर्दछ।

३) गार्गल गर्नुहोस्
—तातो नुन पानीले कुल्ला गर्नाले इन्फेक्सन कम गर्न मद्दत गर्न सक्छ। यद्यपि बच्चाहरूलाई भने यो सिफारिस गरिएको छैन। एक गिलास आंशिक रूपमा चिसो उमालेको पानीमा आधा चम्चा नुन घोल्नुहोस्, र त्यसले कुल्ला गर्नुहोस्, आवश्यक परेमा दोहोर्‍याउनुहोस्। यो तुलनात्मक रुपमा सस्तो हुन्छ र सबैले यसलाई घरमा पनि प्रयोग गर्न सक्छन्।

४) तपाईंलाई सधैँ एन्टिबायोटिक चाहिन्छ भनी नठान्नुहोस्
—धेरै जसो घाँटी दुखाइ भाइरसको कारणले हुन्छ,त्यसैले यसलाई एन्टिबायोटिकद्वारा उपचार गर्न सकिँदैन। गत वर्ष घाँटी दुखाइबारे गरिएको एक अध्ययन अनुसार बेलायत अनुपयुक्त एन्टिबायोटिक प्रिस्क्रिप्शनहरूका लागि लगभग एक चौथाइको लागि जिम्मेवार भएको थियो। त्यस्ता प्रिस्क्रिप्शनहरूले एन्टिबायोटिक प्रतिरोधको विश्वव्यापी खतरामा योगदान पुर्‍याउने बताइएको छ। अमेरिकी अन्वेषकहरूले २०१३ मा प्रस्तुत गरेको एक रिर्पोट अनुसार १९९७ देखि २०१० सम्म घाँटी दुख्ने रोगीहरू मध्ये लगभग ६०% ले एन्टिबायोटिक लिएका थिए। यद्यपि लगभग १०% लाई मात्र आवश्यक थियो। भाइरल घाँटी दुखाइमा अन्य लक्षणहरू छन् जसमा सिँगान बग्ने, खोकी लाग्ने, आँखा रातो वा पानी आउने तथा हाछ्युँ आउन सक्छ।

५)कुलतमा नफस्नुस्
चुरोट पिउनाले घाँटीको नली जलेर घाँटी दुख्न सक्छ। खोडाडी भन्छन्, ‘जब शरीरमा इरिटेन्ट प्रवेश गर्छ खोकीले त्यसलाई हटाउने प्रयास गर्न खोज्छ तर त्यसले गर्दा थप संक्रमण हुन सक्छ।
धुम्रपानले रोग प्रतिरोधात्मक क्षमतालाई पनि कम गर्छ, जसले बारम्बार भाइरल र ब्याक्टेरियाको संक्रमण निम्त्याउन सक्छ र पेट र अन्ननली (वा खाना नली)लाई कमजोर बनाउँछ र त्यसले गर्दा पेटबाट एसिड रिफ्लक्स निम्त्याउँछ र अन्तत: घाँटीमा समस्या आउन सक्छ।’ घाँटी दुख्ने अन्य कारणहरूमा हावामा प्रदूषण, एलर्जी, सुख्खा हावा, र तापक्रममा परिवर्तनहरू समावेश छन्।

६) आफ्नो प्रतिरक्षा प्रणाली बढाउनुहोस्
— तपाईं स्वस्थ सन्तुलित आहार खाएर घाँटी दुखाइबाट बच्न सक्नुहुन्छ। पब्लिक हेल्थ इङ्गल्याण्डले जाडोमा दैनिक भिटामिन डी खाने सुझाव दिन्छ जसले प्रतिरक्षा बढाउन मद्दत गर्न सक्छ।