‘नेपाल आइडल–५’ को उपाधि करण परियारले जिते 

 काठमाडौँ - रियालिटी सो ‘नेपाल आइडल’ पाँचौं संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । 

शनिबार साँझ सम्पन्न ग्रान्ड फिनालेमा अन्य फाइनलिस्ट मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । 

विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले गरेको भोटका आधारमा विजेता चयन गरिएको हो ।
 ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक थिए ।