क्षयरोगबाट मृत्यु हुनेको संख्या किन बढिरहेको छ ?

धनगढी - सुदूरपश्चिममा गत सात महिनामा क्षयरोगबाट ६१ जनाको मृत्यु भएको छ । तीमध्ये कैलालीमा २३ जनाको सो रोगबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, कैलालीले विश्व क्षयरोगका अवसरमा धनगढीमा बिहीबार आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, डोटीका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझाले सो जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा ती क्षयरोगीको मृत्यु भएको हो ।

सुदूरपश्चिममा चैतदेखि साउनसम्म क्षयरोगी बढ्नेगरेका छन् त्यसैले असारसम्म मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान उनको छ । जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार भारतमा काम गर्न गएकाहरू चैते दशै मनाउन घर फर्किने गरेकोले चैतदेखि असारसम्म क्षयरोगीको सङ्ख्या बढ्ने गरेको छ । 

नेपालको तुलनामा भारतमा क्षयरोगीको सङ्ख्या बढी रहेको छ तर प्रतिशतका हिसाबले नेपालमा क्षयरोग बढी छ । नेपालको तीन करोड जनसङ्ख्यामा ४५ प्रतिशतमा सङ्क्रमण भने भारतको झण्डै डेढ अर्ब जनसङ्ख्यामा आठ प्रतिशतमा क्षयरोग सङ्क्रमण रहेको मानिन्छ ।सुदूरपश्चिममा २०७७–७८ मा १०४ र २०७८–८९ मा ११९ जनाको मृत्यु भएको थियो । ती दुई आर्थिक वर्षमा कैलालीमा क्रमशः ४५ र ५६ जनाको मृत्यु भएको थियो । 

सुदूरपश्चिममा यो आर्थिक वर्षको सात महिनामा एक हजार आठ सय क्षयरोगी भेटिएका छन् । त्यसअघि २०७७–७८ मा दुई हजार आठ सय  र २०७८–८९ मा दुई हजार ४३४ जना क्षयरोगी भेटिएका थिए । क्षयरोग पत्ता लागेका कारण २४ मार्चलाई संसारभर क्षयरोग दिवस मान्ने गरिन्छ । नेपालमा पनि हो, हामी क्षयरोग अन्त्य गर्छौँ भन्दै क्षयरोग दिवस मनाइदै छ ।