तनहुँमा पर्यटक बस दुर्घटना, ६ चिनिया पर्यटक घाइते  

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिबार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ चिनिया नागरिक घाइते भएका छन्।

पोखराबाट काठमाडौँ आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस बिहान साढे ६ बजेतिर सडकछेउमा पल्टिँदा ६ चिनिया पर्यटक घाइते भएका हुन्। 

५० वर्षीय सुन ली, ५७ वर्षीया हुक्सिया ली, ६२ वर्षीय वाङ वि डोङ, ६७ वर्षीय कियो मेङ, ६८ वर्षीय छुचेङ र ७० वर्षीय लियो या छिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए। उनका अनुसार बसमा २६ जना सवार थिए।

बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।