मुस्ताङ जहाज दुर्घटनामा पाइलटको त्रुटि भेटियो, जोखिमको चेतावनी दिने सिस्टम नै बन्द

काठमाडौं - मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुुटि देखिएको हो।

विसं २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो।

प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो।

सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन्। सरकारले गत जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो।

आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका थिए।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार उक्त दुर्घटनामा चालक दलको त्रुटि पाइएको छ। जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ।