बैंकका ऋणीले लघुवित्तबाट ऋण नपाउने, एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने

काठमाडौं - लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै लघुवित्तलाई नियमन गर्न चौतर्फी आवाज उठेपछि नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले एक भन्दा बढी ऋणीलाई कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेर बुधबार नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एक मात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको हो।

यस्तै, वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीले अब लघुवित्त वित्तीय संस्थाबाट ऋण नपाउने भएका छन्। धितो नभएका साना ऋणीलाई प्राथमिकता दिनकै लागि भन्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

यसअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पनि लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था थियो।

‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्,’ नयाँ निर्देशनमा भनिएको छ, ‘यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरनलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट -लघुवित्त वित्तीय संस्था समेत कर्जा लिए\नलिएको यकीन गर्नु पर्नेछ।’

यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ।