भ्रष्टाचारी र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि छोडिदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने प्रतिबद्धता जनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला समन्वय समितिले शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गृहमन्त्री श्रेष्ठले गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भए पनि कानुनी दायरामा ल्याइने बताएका हुन् ।

सरकारले सुरु गरेका सुशासनका काम पुरा गर्न कुनै पनि दबाब र हस्तक्षेपले नझुक्ने बताउँदै उनले नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन पुरै अवधिका लागि जारी रहने बताए ।

श्रेष्ठले माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय काम गर्दै अगाडि बढेको बताए । उनले माओवादी केन्द्र नेतृत्वको सरकारले नेपाली जनतामा सकारात्मक सन्देश दिन सफल भएको बताए ।

गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत सानो समयमै धेरै सुधारका संकेत देखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले बढी भन्दा बढी आर्थिक क्रियाकलाप र गतिविधि गर्न सकिने गरी बजेट ल्याउने छलफल चलिरहेको बताए ।