बूढीगण्डकी आयोजनाको काम छिटो बनाउन प्रधानमन्त्रीको निर्देशन, कसरी सुरु हुँदैछ काम ? 

काठमाण्डौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको परियोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा उनले बूढीगण्डकी आयोजनालाई बहुआयामिक भएको बताउँदै निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका हुन् ।

‘बूढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवका साथै बहुआयमिक आयोजना पनि हो । हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौं। तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जानकारी दियो।

जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्यौलमा नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बूढीगण्डकी जलविद्युत् लिमिटेडलाई निर्देशनसमेत दिएका छन् ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले हरेक कोणबाट हेर्दा बूढीगण्डकी आयोजना महत्त्वपूर्ण रहेको बताए । उनले ऊर्जा सम्झौताको कार्यान्वयनका निम्तिसमेत यो आयोजना महत्त्वपूर्ण रहेकाले लगानीका स्रोतहरूको खोजी र परिचालनमा तीव्रता दिएको बताए ।

बैठकमा नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले बूढीगण्डकी आयोजना अगाडि बढाउन पेट्रोलियम पदार्थमा लगाइएको १० पूर्वाधार करमध्ये ५ रुपैयाँ बूढीगण्डकीका लागि बिनियोजन गर्ने निर्णय भइसकेको जानकारी गराएका थिए । कोष सञ्चालन गरिरहेका सरकारी संरचनाको पुँजी आयोजनामा परिचालन गर्न आवश्यक समन्वय र पहल हुनुपर्ने पनि उनले बताए ।