नेपालगञ्ज उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन गर्दै 

काठामडौ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध गर्ने गरी तयारी सुरु गरेको हो ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै १ वैशाख २०८१ देखि नगर क्षेत्रभित्र सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्री–वितरण पूर्ण रूपमा निषेध गर्ने गरी तयारी गर्ने निर्णय भइसकेको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

सरोकारवाला निकायसँगको बैठकले सुर्तीजन्य पदार्थबाट हुने हानि–नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सुर्तीजन्य पदार्थको उपभोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवं सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री–वितरण गर्ने निकाय एवं व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए ।