चिसो बढेसँगै पर्यटकीय क्षेत्र खुम्बु सुनसान

काठामाडौँ । सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै पर्यटकीय नगरी खुम्बु क्षेत्रमा सुनसान भएको छ ।

विगतका वर्षमा चिसो मौसममा पनि फाट्ट फुट्ट चहलपहल हुने खुम्बु क्षेत्रमा यस वर्ष भने सुनसान भएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ खुम्जुङका फुडोमा शेर्पाले बताए ।

यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ। यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ। विदेशी तथा स्वदेशी पर्यटकको आर्कषण अधिक हुँदा भ्याइनभ्याई हुने यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए।

स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यन्त्र जाँदा खुम्बु सुनसान बनेको उनको भनाइ छ। इलाका प्रशासन कार्यालय, नाम्चेका प्रमुख सुजनकुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङलगायतका क्षेत्र पनि चिसो सुरु भएसँगै प्रायः सुनसान छन्।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्यांकअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ३० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए।

यस वर्ष एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिए।

उनका अनुसार गत वर्ष पुसमा चार सय ५५ जना नेपाली र एक हजार चार सय ६५ विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए। यस वर्षको सोही अवधिमा एक सय २० नेपाली र एक हजार दुई सय नौ विदेशी खुम्बु पुगेका कार्यालयको तथ्यांक छ।

गत फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ। याममा दैनिक नौ सयदेखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच(सातजना पर्यटकमात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालय, नाम्चे सोलुखुम्बुका सूचना अधिकारी मण्डलले जानकारी दिए।