जुम्लामा खोप अभियान : ५४ हजारलाई टाइफाइडको खोप दिइने

 जुम्ला - जुम्लाका आठवटै स्थानीय तहका लक्षित जनसंख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।

सो खोपलाई अभियानका रूपमा सञ्चालन गर्नेबारे जिल्लास्तरीय बैठक तथा अन्तक्र्रिया कार्यक्रममा जानकारी दिँदै जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले भने, ‘जिल्लामा पहिलो चरणमा यही पुस ८ देखि १० गतेसम्म कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान गरिने छ ।’

दोस्रो चरणमा पुस ११ देखि १३ गतेसम्म चन्दननाथ, पातारासी, गुठीचौर, तिला र तातोपानी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उनले बताए । यसका लागि एक सय २० खोप कार्यकर्ता परिचालन हुने भएका छन् । दुईसय ४० स्वयम्सेवक र तीन सय वटा खोप सेसन रहेका छन् । खोप लगाउन छनोट भएका तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।

कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, जुम्ला, सल्यान, कालीकोट र सुर्खेत जिल्लामा पनि खोप अभियान सञ्चालन हुने भएको छ । सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइडको खोप दिन लागिएको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेडाइले जानकारी दिए । जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुबेलाको खोप पनि दिइने कार्यक्रम छ । खोपका कारण बाल–मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा सेडाइको भनाइ थियो ।