पहिलो चौमासिकमा कामपाको राजस्व तीन अर्ब संकलन 

 काठमाडौँ - काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।

उक्त रकम गत आवको सोही अवधिको भन्दा रू १७ करोडले बढी हो । कामपाले गत आवको पहिलो चौमासिकमा रू दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार चालु आवको चार महिनामा सबैभन्दा धेरै घरबहाल कर रू ८१ करोड ९२ लाख र सम्पत्ति कर रू ४१ करोड ८६ लाख असुल भएको छ ।

कामपाले चालु आवका लागि रू १० अर्ब ८० करोड राजस्व असुलको लक्ष्य लिएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ । ‘गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्’, उनले भने, ‘पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् ।’

अहिले कामपामा तीन लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए । कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ ।