परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता, भारत भ्रमण सफल र फलदायी  

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएकी छिन्।

बिहीवार भारतको पाँच दिने औपचारिक भ्रमण सकेर फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको बताइन्।

प्रधानमन्त्री मोदीसँगको भेटवार्ता उपलब्धिमुलक रहेको उनको दावी थियो। उनले पाँच दिने भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भूमिका निभाउने विश्वास व्यक्त गरिन्।

उनले भ्रमणले दुई मुलुकबीचको मैत्रीपूर्ण सहयोगात्मक बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याएको दाबी गरिन्।

उनले भ्रमणका क्रममा भारत सरकारले नेपाललाई उच्च सम्मान गर्ने गरेको आभाष भएको बताइन् ।