मनसुनपछिको बाढी-पहिरो बिपद् : आजसम्म १३ जनाको मृत्यु, २६ बेपत्ता

 काठमाण्डौँ - नेपालमा मनसुन भित्रिएको दिन ०८० जेठ ३१ गतेदेखि परेको भारी वर्षाबाट पूर्वी पहाडका तीन जिल्लासहित भोजपुर, तनहुँ, नुवाकोट र गोरखामा गरी १३ जनाको मृत्यु भइसकेको छ भने २६ जना बेपत्ता छन् । ​आठजना घाइतेको उपचार भइरहेको छ । कूल ४१ वटा घर पूर्ण रूपमा र सातवटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।  

मनसुनजन्य विपद्बाट पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र सङ्खुवासभालगायत जिल्लामा भएको क्षतिको अवस्था, तत्काल गर्नुपर्ने काम तथा सरकारका प्राथमिकताबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवालासँग छलफल गरेका छन् । 

छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट सडक र पुलमा मात्रै ४० करोडको हाराहारीमा क्षति भएको जानकारी दिँदै मेची राजमार्ग सञ्चालन गराउन हेवाखोलामा १० दिन जतिमा बेलीब्रिज राख्नसकिने अनुमान गरिएको बताए ।