नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो, बागलुङ–कुश्मिसेरा खण्ड एक साता बन्द

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसैबीच बागलुङ बजारसँग दक्षिणी भेग जोड्ने बागलुङ–कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ । बागलुङ नगरपालिका–१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।