आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

काठमाडौँ - आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यासको थालनी भएको हो । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो । त्यसलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघकोे महासभाको बैठक निर्णय नम्बर ५५ र २०१ ले थप अंगीकार गरी प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

यसवर्ष राष्ट्रसंघले विश्वभरका राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधता प्रति थप जुझारु हुँदै जैविक विविधता योजनाको हिस्सा बन्न आग्रह गर्ने खालको नारा तय गरेको छ । जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले ‘योजनाको हिस्सा बन्नुहोस्’ भन्ने नारा तय गरेको छ ।

नेपालमा भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिएको छ । नेपाल जैविक विविधताको हिसावले एसियामा ११औँ र विश्वमा २५औँ स्थानमा पर्दछ ।

जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले नेपालको अलग्गै पहिचान छ । नेपालमा हालसम्म २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा सूचीकृत छन् ।