शैक्षिक ‘कार्यतालिका’ प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताए।

नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान निर्देशन दिए।

प्रविधिको प्रयोगबाट आयोगले परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउन चाहेको आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन, पठनपाठन लगायतका क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग अपरिहार्य हुँदै गएको बताए।

यस्तै उनले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।