दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही

बागमती - गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर गरिएको जनाइएको छ ।

कार्यालयका अनुसार चितवनमा रहेको खजुरी बिस्कुटको नेपाल प्रालि तथा याक विव्रिग कम्पनीमाथि सम्बन्धित जिल्लामा सो मुद्दा दायर गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए । साथै सो कार्यालयले चालु आवको साउनदेखि फागुनसम्म नापतौल यन्त्रको नवीकरण नगराउने र अटेर गर्ने नौ सय ७३ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमाथि कारबाही गरी जरिवानासमेत गरेको छ ।

सो अवधिमा कार्यालयले तीन सय ९१ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजतपत्र समेत प्रदान गर्नुका साथै आठ सय १४ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्रको नवीकरण गरी कूल दुई हजार एक सय ३२ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्रसम्बन्धी इजाजतपत्र प्रदान गरेको सो कार्यालयबाट उपलब्ध विवरणमा जनाइएको छ ।

नापतौलसम्बन्धी उपरोक्त कारोबारबाट विगत आठ महिनामा कार्यालयले रु ८० लाख २१ हजार आठ सय ५५ राजस्वसमेत सङ्कलन गरेको छ । रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले आज हेटौँडामा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको अनुगमनको क्रममा प्रमुख दासले सो जानकारी दिएका हुन् ।