राष्ट्रिपति पौडेलद्वारा पञ्चकोटमा पाँच हजार ५५५ किलोको ‘मुक्तिनाथ महाघण्ट’ उद्घाटन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको ‘मुक्तिनाथ महाघण्ट’ उद्घाटन गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले करिब दुई करोड रुपैयाँ लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गरेका हुन् । पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो ।

पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी भएका छन् । सो क्रममा पौडेलले सोही स्थानमा बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गरेका थिए ।

दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो ।

महाघण्ट बनाउन आठ वर्ष लागेको जानकारी पनि स्वामी कमलनयनाचार्यले बताए । जलसम्पदाको संरक्षण गर्न सो कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन सो महाघण्टको स्थापना गरिएको उनले जानकारी दिएका हुन् ।

विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । पञ्चकोटमा अहिलेसम्म सिसमहल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापीरूपमा चर्चित बनेको छ । पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ ।