वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ ।

सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताइन् ।

सचिव गुरागाईंले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताइन् ।  उनले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताइन् ।

सचिव गुरागाईंले २२१ करारका कर्मचारीहरु कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताइन् । उनले अहिले दशैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको बताइन् ।