रुकुम पश्चिममा खुकुरी प्रहार गरेर १४ वर्षिय डाँगीको हत्या

काठमाडौँ । रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या भएको छ। घटनामा अर्का एक घाइते भएका छन् । मुसीकोट नगरपालिका वडा नम्बर-११ मा रोल्पाको परिवर्तन गाउँपालिका-४ पाछावाङका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या भएको हो । त्यस्तै ४१ वर्षीय सुकलाल पुन घाइते भएका छन् ।

मुसिकोट नगरपालिका– ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले डाँगीको हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार राति सुतिरहेको ठाउँमा पुनले कोठामै गएर किशोरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। डाँगीको घाँटी रेटेर हत्या गरिएको छ ।

हत्यामा संलग्न पुनको मानसिक अवस्था ठिक नभएको स्थानीयले बताएका छन् । घटनापछि प्रहरीले पुनलाई पक्राउ गरेको छ। उनको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट मृत्यु भएका डाँगी दिदीको घरमा बसेर पढ्दै आएका थिए । 

उनी मुसीकोट नगरपालिका वडा नम्बर ६ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय झुल्खेतमा कक्षा सातमा अध्ययनरत भएको बताइएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।