पोखराको प्राइम सहकारी ठगी प्रकरण : थप तीन जना पक्राउ

पोखरा - पोखराको प्राइम सहकारी संस्थाको ठगी मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत मोदी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका १८ बस्ने ५५ वर्षकी धनकुमारी गुरुङ, पर्वत घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा महानगरपालिका–३ तेर्सापट्टी बस्ने ४७ वर्षका जीवन सार्कीलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा उनीहरुको पनि संलग्नता रहेको भन्दै प्रहरीले यसअघि नै प्रतिवादी बनाएर मुद्दा बुझाइसकेको थियो । अरु पक्राउ परेका प्रतिवादीहरुको थुनछेक आदेश भइसकेको छ । तर उनीहरु फरार रहेका कारण पुर्पक्ष हुन सकेको थिएन । उनीहरुलाई शुक्रबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।