एसीसी प्रिमियर कप : कुशल मल्लको कीर्तिमानी शतकीय पारीमा ओमानलाई ३११ रनको लक्ष्य

काठमाडों  - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा ३१० रन बनाएको हो।

घरेलु मैदानमा भएको एकदिवसीयमा नेपालले दिएको यो अहिलेसम्म कै उच्च लक्ष्य हो। यसअघि लिग–२ मा नेपालले पीएनजीविरुद्ध २९७ रनको लक्ष्य दिएको थियो।

५० औँ एकदिवसीय खेलमा नेपालको लागि विष्फोटक ब्याटिङ गरेका कुशल मल्लले शतकीय पारी खेले। कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रनको योगदान गरे।

उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पुरा गरे। यो उनको पहिलो अर्धशतक हो। १९ वर्षीय कुशल एकदिवसीयमा शतक प्रहार गर्ने छैँटौँ खेलाडी बनेका छन्।

यस्तै, सोमपाल कामीले अविजित ६३ रन जोडे। उनले ३९ बलमा ७ चौका प्रहार गर्दै सोमपालले अर्धशतक पुरा गरे। यो उनको व्यक्तिक दोस्रो अर्धशतक हो।
करन केसी भने २९ रनमा अविजित रहे।