‘झोला’ को निर्देशक भट्टराई ले ‘झिल्को’ बनाउँदै

काठमाडौँ ।  निर्देशक यादव भट्टराईको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त गरिएको छ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका भट्टराईले सामाजिक कथावस्तुमाकै ‘झिल्को’ बनाउन लागेका हुन् ।

गौशाला स्थित गुहेस्वरी मन्दिरमा पुजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो। चलचित्रको माघ अन्तिम हप्ताबाट काठमाडौँमा छायांकन गरिने बताइएको छ । झोला र भोरपछि निर्देशक भट्टराईको यो तेस्रो निर्देशकीय चलचित्र हो ।

उनले भने, ‘विगत ढेड बर्षदेखि निरन्तर अध्ययन र लेखन गरि हामीले तपाईमाझ निर्माणको रहेको कुरा बताउने आँट गरेका छौ । सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भिर दुष्चक्रमा फँसेको कथालाई उठाउन गर्ने आँट गरेका छौ । एउटा राम्रो र अर्थपुर्ण चलचित्र निर्माण गर्ने दृढताका साथ हाम्रो टिमले कार्य गरिरहेको छ ।’

फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा र आयुषी ढकाल लगायतको अभिनय रहनेछ । दीपक बज्राचार्यको छायांकन र चण्डीप्रसाद काफ्लेको संगीत हुनेछ ।

निर्देशक भट्टराई निर्देशित पहिलो फिल्म ‘झोला’ सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो ।