नेता र पार्टीप्रति बढ्दो वितृष्णा चिर्न आवश्यक छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता र पार्टीप्रति बढ्दो वितृष्णा चिर्न आवश्यक रहेको बताएका छन् ।

समाजवादी चिन्तक स्व.प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

“नेताहरूप्रति वितृष्णा फैलिएको छ । पार्टीप्रति वितृष्णा फैलिएको छ । त्यो चिर्न जरुरी छ,” उनले भने ।

 उनले संविधान संशोधनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्झौता गरेर मात्रै नहुने बताए ।

नेपालले संविधान संशोधनको विषयमा खुल्ला बहस नगरेर मध्यरातमा हस्ताक्षर गर्दा शंका भएको बताए । विश्वमा कुनै पनि प्रणाली कमीकमजोरी मुक्त नरहेको उनको भनाइ छ ।

उनले कांग्रेसमा असहमति भए पनि मिलेको भन्दै कम्युनिस्टको बुद्धि पछि आउने बताए । “कम्युनिस्टहरूमा बुद्धि पछि आउँदोरहेछ । विनम्र हुनु भनेर सिकाए गाली आउँछ,” उनले भने ।