दोलखा भिमेश्वरको शिलामा बायाँतर्फ पसिना, क्षमा पूजा हुँदै

काठमाडौँ । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दीरको शिलामा पसिना आएको छ । भीमेश्वर मन्दिरको शीलामा आज दिउँसो १ः४७ बाट पसिना आएको भीमेश्वर पुजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

शिलाको बाँयातर्फबाट पसिना आएको श्रेष्ठले बताए । उनको अनुसार पसिना आउने क्रम अझै जारी छ । भीमेश्वरको शीलामा वायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने जनविश्वास रहीआएको छ ।

भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ ।

पसिना आएको खवर सार्वजनिक हुना साथ ठूलो सँख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका छन् । शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रुपले दिने गरिन्छ ।

भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनबिस्वास छ ।

यसअघि २०७८ साल बैशाख २५ गते पनि भीमेस्वर मन्दिरको शिलामा १ घण्टा २५ मिनेटसम्म पसिना आएको थियो । त्यतिबेला भीमसेनको शिलाको दाँयाबाट पसिना आएको थियो ।