नेपालमा साढे ५ प्रतिशतभन्दा धेरै जनसङ्ख्या पहिरोको उच्च जोखिममा

 काठमाण्डौँ - नेपालमा साढे पाँच प्रतिशतभन्दा धेरै जनसङ्ख्या पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको नेपालको प्रकोप वृद्धिसम्बन्धी प्रतिवेदनअनुसार कुल जनसङ्ख्याको दुई दशमव पाँच प्रतिशत अतिउच्च जोखिम र तीन प्रतिशत उच्च जोखिममा रहेका देखाएको हो । यस्तै दुई दशमलव पाँच प्रतिशत मध्यम जोखिममा रहेका छन् ।

प्रतिवेदनअनुसार देशका ३३ दशमलव ६३ प्रतिशत वडाका बासिन्दा पहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै देशका शून्य दशमलव चार प्रतिशत मानिस बाढीको अति उच्च जोखिममा र एक दशमलव आठ प्रतिशत उच्च जोखिममा रहेका छन् । सात दशमलव एक प्रतिशत मध्यम जोखिममा रहेका प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार ४० दशमलव ५९ प्रतिशत वडा बाढीको जोखिममा रहेका छन् । सबैभन्दा धेरै नवलपरासीका ८२ प्रतिशत वडामा बाढी र रसुवाका ८१ प्रतिशत वडा पहिरोको जोखिममा रहेको देखाएको छ ।