पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विवेचनीय घटना रहेको ओलीको टिप्पणी  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताएका छन् ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रूपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति विस्तार नयाँ र विवेचनाको विषय भएको बताए ।  

“राजनीतिक स्थायित्व, सुशासन एवं समाजवादउन्मुख राज्य निर्माणको अभियानमा चुनौति थपिए । निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन्,” उनले भने, “यसबीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गएको  छ ।”

शुसासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको उनको भनाइ छ । यसले सिर्जना गरेको असन्तुष्टिलाई पपुलिज्म र दक्षिणपन्थी शक्तिले प्रयोग गर्न सफल भएको उनी बताउँछन् ।