इलाम पुगेका गगन थापाले भने, ‘एमाले - माओवादीको गठबन्धन आगामी माघसम्म रहँदैन’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले - माओवादीको गठबन्धन आगामी माघ महिनासम्म नरहँने दाबी गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम(२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए ।

गगनले भने, ‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ । चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्छ । हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसँग सँगै रहन चाहन्थ्यौं । तर, हाम्रो चाहनाले मात्रै भएन । आज नेकपा एमाले, माओवादीलगायत दलहरू मिलेर आएका छन् । उनीहरू मितेरी साइनो मात्र नभएर रगत पनि एउटै भएको बताउँछन् । म कमस खाएर भन्दिनँ । तर, दाबीका साथ इलामेली जनताकासामू भन्छु, गठबन्धनले २०८१ सालको माघ कटाएछ भने म फेरि जवाफ दिन आउनेछु ।’

उनले चुनावअघि गठबन्धन मतदातालाई धोका र बेइमानी भएको टिप्पणी गरे । साथै, कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई मतदान गर्नसमेत अपिल गरे ।